‘परीक्षण गर्नु अगाडि आरडीटी प्रमाणीकरण अनिवार्य गरौं’ – प्रा. डा. अञ्जना सिंह

२८ वैशाख, काठमाडौं । नेपालमा कोभिड-१९ (नोवेल कोरोना भाइरस) को पहिलो संक्रमण देखिएको चार महिनामा प्रति एक लाखमा ६० जनाको पनि पीसीआर टेस्ट भएको छैन । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) बाट ५० हजारभन्दा बढी नमुना परीक्षण भए पनि यो विधिको विश्वसनीयता एकदमै न्यून छ । तीन राज्यमा टेस्ट गर्दा ९५ प्रतिशत नतिजा गलत आएपछि भारतले चीनको वन्डफो कम्पनीको आरडीटी प्रयोगमा प्रतिबन्ध लगायो । नेपाल ल्याएको ७५ हजार आरडीटी पनि त्यही कम्पनीको हो । सूक्ष्म जीवाणुशास्त्री प्रा. डा. अञ्जना सिंह प्रमाणीकरण (भ्यासलिडेसन) गरेर मात्रै आरडीटी प्रयोग गर्नुपर्ने बताउँछिन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)की प्राज्ञ सिंहका अनुसार अनुसन्धान नै नभइसकेकोले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो छ भन्न पनि मिल्दैन । त्रिभुवन विश्वविद्यालय,  सूक्ष्म जीवाणु केन्द्रीय विज्ञान विभाग प्रमुख बनिसकेकी उनी कोभिड-१९ महामारीबाट जोगिन यतिबेला बढीभन्दा बढी परीक्षण गर्नुपर्नेमा जोड दिन्छिन् । प्रस्तुत छ, प्रा.डा. सिंहसँग अनलाइनखबरका लागि सन्त गाहा मगरले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

कोभिड-१९ को उपचारपछि निको भएर घर फर्केकाहरूको रिर्पोट पुनः पोजेटिभ आएको छ । यसको कारण के होला ?
एउटै कारणले पुनः पोजेटिभ भएको नहुन सक्छ । त्यसमध्येको एउटा कारण टेस्टसँगै सम्बन्धित छ । भारतमा कोभिड-१९ का गम्भीर बिरामीलाई आरडीटी टेस्ट गर्दा कोरोना नेगेटिभ देखाएछ । त्यसपछि उनीहरूले चीनले उत्पादन गरेको वन्डफो ब्रान्डको आरडीटी प्रयोगमा प्रतिबन्ध लगायो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आरडीटीबाट ८६-८७ प्रतिशत मात्र सही नतिजा आउँछ भनेको छ । स्पेनमा त ७० प्रतिशत नतिजा गलत देखियो । त्यसपछि उनीहरूले आरडीटी प्रयोग नगर्ने निर्णय गरे । यसले देखाउँछ आरडीटी टेस्ट भरपर्दो होइन । हामीले आरडीटी प्रयोगअघि प्रमाणीकरण गर्नुपर्छ । उपचारपछि ठिक भएका बिरामी घर जानुअघि गरिएको आरडीटी टेस्ट पोजेटिभ र पीसीआर टेस्ट नेगेटिभ आउनुपर्छ । त्यस्तो नतिजा आएको बिरामीलाई निको भएको मानिन्छ । कोरोना संक्रमणबाट निको भएका बिरामीमा एन्टिबडी बनिसक्ने हुनाले आरडीटी टेस्ट पोजेटिभ आउँछ । त्यस्तै, बिरामीको शरीरमा एन्टिजेन सकिसकेको हुनाले पीसीआर टेस्ट नेगेटिभ आउँछ । एन्टिजेन भनेको एक किसिमको प्रोटिन हो । जिनको मटिरियल त्यसभित्रै हुन्छ । रिर्पोट पुनः पोजेटिभ भएर उपचारमा फर्केका बिरामीको टेस्टमा आरडीटी र पीसीआर दुवै पोजेटिभ देखिनुपर्छ । उनीहरूलाई पुनः संक्रमण भएको पनि हुन सक्छ । नमुना संकलनमा त्रुटि भएको पनि हुन सक्छ ।

हामीले टेस्टका लागि अपनाएको विधि नै गलत त छैन ?
आरडीटी स्क्रिनिङ टेस्टका लागि हो । फेरि दोहोर्‍याएर भन्छु- यसको प्रयोगअघि अनिवार्य रुपमा प्रमाणीकरण (भ्यालिडेसन) गर्नुपर्छ । आरटीक्यू-पीसीआर अर्थात् पीसीआरलाई आरडीटीभन्दा भरपर्दो मानिन्छ । टेस्टमा पोजेटिभ आउनुको अर्थ बिरामीको शरीरमा डिएनए, आरएनए छ भन्ने हो । कोभिड-१९ आरएनए बेस्ड एउटा जिन हो । आरटीक्यू-पीसीआरभन्दा पनि राम्रो विधि ‘कल्चर मेथड’ हो । यो ‘गोल्ड स्ड्यान्डर्ड’ टेस्ट हो । तर, कल्चर मेथडबाट परीक्षण गर्न बिएसएल (बायो-सेफ्टी लेभल)-३ वा ४ सम्मको प्रयोगशाला चाहिन्छ, समय पनि धेरै लाग्छ । त्यही कारण स्क्रिनिङका लागि प्रमाणीकरण गरेर आरडीटी र कर्न्फम गर्नका लागि आरटीक्यू-पीसीआर विधि प्रयोग गरिएको हो । डब्लुएचओले पनि पीसीआरलाई मान्यता दिएको छ ।

संसारभर वितण्डा मच्चाइरहेको नोवेल कोरोना कस्तो भाइरस हो ?
पहिला भाइरसबारे चर्चा गरौं । भाँडाकुँडा, टेबल, पैसा आदिमा रहँदासम्म यो निर्जीव भएर बसेको हुन्छ । मानिस वा पशुपन्छीको शरीरमा प्रवेश गरेपछि यसले जीवितको जस्तो व्यवहार देखाउन थाल्छ । आकारमा यो शून्य दशमलव २२ माइक्रोमिटरको हुन्छ । भाइरस चार प्रकारका हुन्छन् । त्यसमध्येको एक कोरोना ६ प्रकारका हुन्छन् । कोरोना भाइरसबारे सन् १९५९ देखि नै थाहा भएको हो । त्यतिबेलादेखि नै कोरोना मान्छे, कुकुर, चराचुरुङ्गीमा पाइन्छ भनिँदै आएको छ । यो नयाँ भाइरस हो । त्यसैले यसको नामको अगाडि ‘नोवेल’ जोडिएको छ । यो भाइरसको ‘जेनेटिक मटिरियल’ पहिलाको भन्दा भिन्न छ ।

नयाँ स्वरुपमा आएको नोवेल कोरोनालाई तापक्रमले असर गर्छ कि गर्दैन ?
ब्याक्टेरिया र ढुसी तापक्रमबाट प्रभावित हुने अनुसन्धानले देखाएको छ । नोवेल कोरोना भने यति तापक्रममा वृद्धि वा नष्ट हुन्छ भन्ने थाहा भइसकेको छैन । अति गर्मी हुने एसियाली देशदेखि जाडो हुने युरोपेली देशसम्म नोवेल कोरोना देखिएको छ । न गर्मी न जाडो मौसम हुने देशमा पनि यो भाइरस फैलिएको छ । यो भाइरस सामान्यतः दुई दिनदेखि १४ दिनसम्ममा सर्छ भनिएको छ । चीनको वुहानमा एकजना ७० वषर्ीयमा २७ दिनपछि पनि कोरोनो सरेको पाइयो । नेपालमा चार-पाँच हप्ता पहिले विदेशबाट आएकामा पनि संक्रमण फेला परेको छ । परीक्षण ढिला सुरु हुँदा यस्तो भएको हुन सक्छ । बेलैमा पर्याप्त टेस्ट नहुँदा को संक्रमित हो, को होइन भन्ने थाहा छैन । टेस्टमै पनि सुरुमा सुधारिएको प्रोटोकल थिएन । किटहरू पनि आइपुगेको थिएन । नयाँ भाइरस भएकाले अहिले पनि यो कति छिटो सर्छ, कहिलेसम्म सर्छ भन्ने जस्ता विषयमा अनुसन्धान हुनै बाँकी छ । त्यसले गर्दा अहिले पनि ठ्याक्कै यही हो भन्न गाह्रो परेको हो ।

नोवेल कोरोनाले स्वरुप परिवर्तन गरेको हो कि भन्ने कुरा पनि आइरहेको छ । यस्तो सम्भावना पनि छ ?
हो, स्वरुप परिवर्तन गरेको हुन सक्छ । सामान्य रुघाखोकीकै कुरा गरौं । यसपालि मलाई रुघा लाग्यो । खोकी लाग्छ, नाकबाट पानी बग्छ । एक हप्ता जतिमा सामान्य हुँदै ठिक भएर जान्छ । अर्को वर्ष यही रुघाखोकी मलाई नलाग्न सक्छ । रोगप्रतिरोधात्मक क्षमता बलियो भएको व्यक्तिलाई नलाग्न सक्छ । त्यस्तो रुघाखोकीलाई लक्षित गरेर बनाइएको औषधिले अर्को वर्ष काम नगर्न सक्छ । त्यस्तो किन हुन्छ भने भाइरस निश्चित आकारको हुन्छ । त्यसको वरिपरि एक किसिमको खोल हुन्छ । जसलाई ‘क्याप्सिड’ भनिन्छ । भाइरसले त्यो ‘क्याप्सिड’ को स्वरुप परिवर्तन गर्दै जान्छ । ‘क्याप्सिड’को ‘रिसेप्टर’ सँग मिल्ने व्यवहार देखायो भने हाम्रो शरीरमा संक्रमण हुन्छ । हाम्रो रोगप्रतिरोधात्मक शक्ति वा एन्टिबडी प्रोडक्सन पहिल्यै राम्रो छ भने ‘रिसेप्टर’ सँग मिल्ने व्यवहार देखिन्न र भाइरसलाई नै मार्न सक्छ । इन्फ्लुइन्जाको सन्दर्भमा पनि यस्तो हुन्छ । नयाँ भाइरस कोभिड-१९ को सन्दर्भमा पनि त्यस्तै हुन सकेको छैन । देशमाथि आक्रमण हुन लाग्दा सेनाले रोके जस्तै भाइरसले आक्रमण गर्दा एन्टिबडीले रोक्नुपर्ने हुन्छ । रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको अवस्थामा भाइरसको प्रवेश भएपछि शरीरको कोषसँग मिलेर आफ्नै किसिमको दुनियाँ बनाउँछ । उसले बनाएको दुनियाँअनुसार हाम्रो शरीर चल्न नसकेपछि असर देखिन थाल्छ ।

उत्तरी छिमेकी चीनबाट सुरु भएको कोरोनाले खुल्ला सिमाना रहेको छिमेकी भारतमा ५० हजारभन्दा बढीलाई संक्रमित बनाइसक्यो । दक्षिण एसियामा भुटानपछि नेपालमा सबैभन्दा कम संक्रमित छन् । यस्तो हुनुमा कुनै वैज्ञानिक कारण देख्नुहुन्छ ?
हामीले सुरुमै लकडाउन गर्‍यौं । कोरोना नफैलिनुमा लकडाउनको ठूलो भूमिका रहृयो । लकडाउनबाट हामीले तयारी गर्ने समय पनि पाएका छौं । सरोकारवालासँग पर्याप्त छलफल गर्ने अवसर पनि पायौं । तर, टेस्ट कम भएको छ, यो बढाउनु पर्‍यो ।

नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमता बलियो भएर कोरोनाको संक्रमण नदेखिएको भन्ने तर्कमा सत्यता छ ?
नोवेल कोरोना भाइरससँग लड्ने क्षमता बलियो छ भन्दा आधारहिन हुन जान्छ । यो विषयमा अनुसन्धान नै भएको छैन । अनुसन्धान नभएको विषय बोल्नु भनेको अनुमान मात्र हुन्छ ।

नेपालमा कोरोना संक्रमण देखिएका ८० वर्ष कटेका, दमका बिरामी पनि निको भइसके । अहिले उनीहरूको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसको कारण के हुन सक्छ ?
हामीले क्षयरोग (टीबी) जस्ता रोगको औषधि धेरै पहिलेदेखि प्रयोग गर्दै आएका छौँ । यस्ता औषधिहरू गाउँ-गाउँमा प्रयोग भएको अवस्था छ । यो कारणले पनि हो कि भनेर एउटा अनुमान गर्न सकिन्छ । १८ औं शताब्दीमा युरोपमा ब्याक्टेरियाबाट प्लेग महामारी फैलिएर गाउँका गाउँ, सहरका सहर नास भएका थिए । त्यसपछिको अध्ययनमा त्यो बेला प्लेग रोग नलागेका पकेट क्षेत्र पनि भेटिएको थियो । त्यस क्षेत्रका मान्छेको ‘जेनेटिक मेकअप’मा प्लेग ब्याक्टेरियासँग मिल्दो ‘रिसेप्टिभ मटिरियल’ नभएको पाइएको थियो । अहिले कोभिड-१९ को सन्दर्भमा नेपालीको पनि वंशाणुगत मेकअप क्षमता राम्रो भएर हो कि भनेर अनुमान गर्नसम्म सकिन्छ । तर, अनुसन्धान नभई यसै भएको हो भन्न सकिँदैन ।

कतिपयले विगतमा बीसीजी खोप लगाएका कारणले पनि कोरोनाको असर कम देखिएको हो भन्ने गरेका छन् । यसमा सत्यता छ ?
अनुसन्धान नभएको विषय भएको हुनाले यही हो भन्न मिल्दैन ।

नेपालीहरूको खाना खानुअघि हात धुने बानीले पनि कोरोनाबाट बचाएको भन्न मिल्छ ?
न्यु इङग्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार कोरोना भाइरस आल्मुनियममा आठ घण्टासम्म रहन्छ । कागजपत्र, पैसामा पाँच घण्टासम्म, तामामा चार घण्टासम्म, स्टिलमा दुई-तीन दिनसम्म रहन्छ भन्ने छ । कोरोनाकोे क्याप्सीड लिपीडले बनेको हुन्छ । साबुन वा अल्कोहल (पिउने रक्सी होइन) परेपछि लिपीड पग्लन्छ । साबुन पानीले मिचीमिची धुँधा पखालिएर जान्छ । यो हिसाबले खानाखानु अघि हात धुने बानीले गर्दा संक्रमण कम भएको भन्न मिल्छ । हात धुनका लागि सफा पानी र साबुन मनग्गे हुने नेपाली कति छन् भन्ने पक्ष पनि छँदैछ ।

विभिन्न स्थानीय तह, संघ-संस्थाले नै कोरोना रोकथामका लागि भन्दै किटनाशक औषधि छरेको देखिन्छ । यो उपाय कत्तिको प्रभावकारी छ ?
घर-आँगन सफा गर्नु पक्कै राम्रो कुरा हो । तर, किटनाशक छर्केर भाइरस मुक्त भइन्न । झिंगा, किरा, फट्याङ्ग्रालाई किटनाशकले नाश गर्छ । यसो गर्दा झिंगामार्फत आउने भाइरस रोकथाम हुन सक्छ । अर्थात् यसले ‘सेकेन्डरी इन्फेक्सन’ बाट जोगाउँछ । किटनाशकले भाइरस मार्दैन । त्यसरी प्रयोग गरिने किटनाशकका रसायन शरीरका लागि हानिकारक हुन सक्छ ।

कोरोनाविरुद्व भ्याक्सिन वा औषधि पत्ता लाग्न ढिलो हुनुको कारण के होला ?
जुनसुकै भाइरस शरीरमा प्रवेश गरेपछि त्यसले आफू अनुकूल वातावरण बनाउन थाल्छ । भाइरस प्रवेशसँगै शरीरमा एउटा रसायन पनि पैदा हुन्छ । त्यो रसायन र भाइरस मिल्यो भने रोग लाग्दैन । त्यही रसायनले रोगको प्रतिरोध गर्छ । शरीरमा प्रवेश गरेको भाइरसको गुणात्मक वृद्धि भयो भने मात्र संक्रमण हुन्छ, अर्थात रोग लाग्छ । कोरोनाको यही गुणात्मक वृद्धि कसरी रोक्ने भन्ने कुरा पत्ता लाग्न समय लागि रहेको छ । एक वर्षदेखि तीन वर्षसम्म पत्ता लाग्छ भनिँदैछ । छिट्टै पत्ता लाग्न पनि सक्छ । अहिले प्लाज्मा उपचार गर्न थालिएको छ । यो विधिमा कोरोना संक्रमणबाट निको भइसकेका व्यक्तिको प्लाज्मा लिएर उपचार गरिन्छ ।

कोरोनाले स्वरुप परिवर्तन गरेर, आफैं नाश भएर जाने वा मान्छेलाई हानि नगर्ने सम्भावना छ ?
भाइरसको स्वरुप परिवर्तन हुनुलाई ‘म्युटेसन’ भएको भनिन्छ । नोवेल कोरोना भाइरसले स्वरुप फेर्छ, फेर्दैन भन्ने अनुसन्धान भइसकेको छैन । अहिलेसम्मको अनुभव हेर्दा ‘म्युटेसन’ पनि हानिकारक नै भएको देखिन्छ । जस्तो, इन्फुलुइन्जाको ‘म्युटेसन’ भइरहन्छ, रुघाखोकी पनि ल्याइरहन्छ । कोभिड-१९ को के हुन्छ, अहिले नै भन्नु हतार हुन्छ ।

तस्वीर/भिडियोः आर्यन धिमाल/अनलाइनखबर

(साभारः Onlinekhabar.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *