‘गर्भको बच्चालाई कोरोना सर्दैन, तर प्रसुतीमा सावधानी अपनाउनुपर्छ’ – प्रा.डा. सुनीलमणि पोखरेल

७ जेठ, चितवन । भरतपुर अस्पताल काठमाडौंको प्रसुतीगृहपछि सबैभन्दा बढी प्रसुती सेवा प्रदान गर्ने सरकारी अस्पताल हो । सरकारी तथ्यांकअनुसार हरेक वर्ष देशभर करिब चार लाख सुत्केरी हुन्छन्, जसमध्ये वार्षिक साढे १३ हजारले भरतपुर अस्पतालबाट सुरक्षित मातृत्व सेवा लिएका छन् । चितवन र यस वरपरका जिल्लाबाट समेत प्रसुती गराउन भरतपुर अस्पतालमा ल्याउने गरिन्छ । अस्पतालका ६ सय शैयामध्ये १२० शैया स्त्री तथा प्रसुती रोग विभागका लागि छुट्टाइएको छ । भरतपुर अस्पतालमा गत वर्ष १३ हजार ५ सय ४५ महिलाहरुले सुरक्षित मातृत्व सेवा लिएका थिए । प्रा.डा. सुनीलमणि पोखरेलले भरतपुर अस्पतालमा प्रसुती विभागको नेतृत्व लिइरहेका छन् । उनी मातहत १३ चिकित्सक, ५ जना रेजिडेन्ट चिकित्सक झण्डै ११५ जनाले काम गरिरहेका छन् । अहिले पनि प्रत्यक्ष र अप्रत्यक्षरूपमा दैनिक झण्डै एक सयजना बिरामी हेरिरहेको डा. पोखरेल बताउँछन् । पछिल्लो समय कोरोना महामारी र लकडाउनका कारण गर्भवती एवं सुत्केरीहरुमा जोखिम र चिन्ता बढेको छ । यो अवस्थामा सरकार, स्वास्थ्यसंस्थाहरु र गर्भवती/सुत्केरीहरुले ख्याल गर्नुपर्ने विषयहरु के कस्ता हुन सक्छन् भन्नेबारे आम जनचासो बढेको छ । यसै सन्दर्भमा भरतपुर अस्पतालका प्रसुती विभाग प्रमुख प्रा.डा. पोखरेलसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ–

कोरोना भाइरसको संक्रमण बढिरहेको छ, कसरी उपचार गराइरहनुभएको छ ?
कोरोना भाइरसको संक्रमणले सबैतिर त्रास फैलिएको छ । जोखिम त सबैलाई छ नै । तैपनि हामीले सावधानी अपनाएर गर्भवतीको उपचार गरिरहेको छौं । हामी हाम्रो जिम्मेवारीबाट पन्छिन मिल्दैन । गर्भवतीहरूको जाँच, उनीहरूलाई आइपर्ने समस्या, सुत्केरी गराउने जस्ता विषय अहिले नगरौं, पछि सारौं भन्न मिल्ने अवस्था हुँदैन । कतिपयले साधारण तरिकाबाट बच्चा पाउनुहुन्छ भने कतिपयको अप्रेशन नै गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा जतिबेला पनि तयार भएर बस्नुपर्छ । प्रसुती गराउने चिकित्सक र स्वास्थ्यकर्मीहरु कोभिड १९ को उपचार गर्ने स्वास्थ्यकर्मी पछि दोस्रो नम्बरमा जोखिममा छन् । यो जोखिम मोलेर नै काम गरिरहेका छौं । अहिले कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । अहिले त कम्युनिटीमा टान्र्सफर भैसकेको जस्तो पनि देखिन्छ । यो अवस्था भनेको हाम्रा लागि समेत जोखिम हो । हामीले अरू सरुवा रोग भएका बिरामीको अप्रेसन गर्दा जुनखालको सावधानी अपनाएर काम गर्दथ्यौँ, अहिले सबैमा त्यही विधि अपनाएका छौं । संक्रमण नभए पनि छ भनेर काम गर्नुपर्दछ । त्यसले बच्चा, आमा, स्वास्थ्यकर्मी सबै सुरक्षित हुन्छन् । तर, यसो भन्नुको अर्थ बिषेश ध्यान नदिने भन्ने चाँही हैन । हेपाटाइटिस बी, एचआईभीका बिरामीबाट डेलिभरी गराउँदा जस्तै सावधानी अपनाएका छौं । कोभिड १९ का लागि छुुट्टै त्यस्तो केही चाहिँदैन । भरतपुर अस्पतालमा आउने कुनै पनि बिरामीलाई बाहिर नपठाउन मैले कडा निर्देशन नै जारी गरेको छु । कसैले बाहिर पठाएको जानकारी भए कारर्वाही पनि गर्छु । हामी उच्च मनोबलका साथ काम गरिरहेका छौं ।

भरतपुर अस्पतालमा सुत्केरीहरुको चाप कस्तो छ ?
अहिले पनि भरतपुर अस्पतालमा सुत्केरी गराउनहरूको संख्यामा खासै कमी आएको छैन । अप्रेसनको संख्या घटेको छैन । तर, शल्यक्रियाबाहेक साधारण तरिकाले सुत्केरी गराउनेको संख्यामा भने केही कमी आएको जस्तो देखिन्छ । यसको मतलब, लकडाउनमा उनीहरू अस्पतालसम्म आइपुगेन् । घर नजिकैको स्वास्थ्यकेन्द्रमा प्रसुती गराएजस्तो लाग्छ । तर, पहिला अप्रेसन गराएर बच्चा पाएका महिलाहरुले दोस्रोपटक बच्चा पाउँदा अनिवार्य अप्रेसन नै गर्नुपर्छ । बैशाख महिनामा नौ सय जनाले अस्पतालबाट सुरक्षित मातृत्व सेवा लिएका छन् । तीमध्ये २७३ जना गर्भवतीको अप्रेशन भयो । जेठमा अहिलेसम्म ७३३ महिलाले सुरक्षित मातृत्व सेवा लिइसक्नुभएको छ । अहिले अस्पतालमा दैनिक १० वटा अप्रेशन हुने गरेको छ । ६० जना जति ओपिडीमा हेछौं । आकस्मिक केस पनि हुन्छन् । राउण्ड पनि गरिरहेका हुन्छौं । आकस्मिक बाहेक मिति र समय मिलाएर बिरामी हेर्न सकिन्छ । त्यसतर्फ पनि सोचिरहेका छौं ।

गर्भवती र सुत्केरीलाई लकडाउनको जोखिम कत्तिको परेको छ ?
अहिले लकडाउनको बेलामा गएका बर्षहरुमा पनि गभर्वती र सुत्केरीहरुको मृत्युदर बढेको देखिएको छ । यो अवधिमा अहिलेसम्म ३० जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यो दुःखद छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो संख्या झण्डै चार गुणा बढी छ । गत वर्ष यो अवधिमा ८ जना मृत्यु भएको थियो । लकडाउनले गर्दा समयमै स्वास्थ्य संस्थामा पु‍र्‍याउन नसक्दा उनीहरूले अकालमै ज्यान गुमाउनु परेको छ । मेरो बिचारमा कपितय ग्रामीण भेगमा यातायातको असुविधा पनि छ । रोग सर्छ भन्ने डर पनि कतिपयलाई होला । ढिला अस्पताल पु‍र्‍याउनु, रक्तश्राव बढी हुनु, पाठेघर फुट्ने जस्ता कारणले ज्यान जान सक्छ । यसबारे हरेक स्थानीय तह, स्वास्थ्यकर्मीहरु चनाखो बन्नुपर्छ । गर्भवतीहरुलाई समयमा नै स्वास्थ्य संस्थामा लैजान ढिला गर्नुहुन्न । लकडाउन लम्बिदै जाँदा गर्भवती तथा सुत्केरीहरु जोखिममा पर्दै जाने देखिन्छ, यसमा सहजता ल्याउनुपर्दछ । कोरोना भाइरसका कारणले भएको नेपालको पहिलो मृत्यु नै सुत्केरीको भएको छ । यसले चिन्ता बढाएको छ ।

कोरोना भाइरसका कारणले गर्भवती र सुत्केरीहरु कतिको जोखिममा पर्छन् ?
पक्कै पनि कोरोनाको जोखिम गर्भवती र सुत्केरीलाई नहुने भन्ने कुरा भएन । विषेशतः सुगर, प्रेसर भएका वा अन्य रोग भएका महिला गर्भवती भए र त्यहीबेला कोरोना संक्रमण भयो भने बढी जोखिम हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा फेरबदल आउने र हर्मोनसमेत परिवर्तन हुने कारणले सामान्य जोखिम त रहन्छ नै । तर, यसो भन्दैमा आत्तिहाल्नुपर्ने भने हुँदैन । पर्याप्त सावधानीहरु अपनाउने, परिवारले पनि उत्तिकै सहयोग गर्ने काम गर्नुपर्छ । संक्रमणको डर छ भन्दैमा नियमित चेकजाँच गर्न छाड्नुहुँदैन । कतिपय गर्भवती तथा सुत्केरीहरु घरमै बस्नुपरेकाले नियमित स्वास्थ्य चेकजाँचमा जान नपाएको गुनासो पनि सुन्ने गरिएको छ । यसमा सहजीकरण गर्नुपर्छ । अर्को के छ भने, गर्भमा रहेको बच्चा कोरोना सर्ने जोखिम हुँदैन । किनकि भाइरस सालनालबाट भित्र जान सक्दैन । बच्चालाई सरेको एकदमै कम छ । सर्ने तरिका फरक छ । भाइरल लोड कति छ भन्ने कुरामा पनि निर्भर रहन्छ । गर्भमा रहेको बच्चामा आमाको रगत जाने हुँदैन । सालको माध्यमबाट पोषण मात्र जाने गर्छ । पुरुषको तुलनामा महिलामा जोखिम कम छ । महिलामा एक्स–एक्स क्रोमोजोम हुन्छ । रोगसँग लड्ने क्षमता पनि बढी हुन्छ । अर्को कुरा, खासै महिलाहरु धेरै मान्छेसँग भेट्ने, डुल्दै हिँड्ने, मदिरापान, धुम्रपान सेवन गर्ने काम पुरुषको तुलनामा कम गर्छन् । उनीहरूमा मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या पनि कम हुन्छ । कोरोनाबाट अरू मानिस जति जोखिममा हुन्छन्, गर्भवती पनि त्यत्तिकै जोखिममा हुने एउटा पक्ष हो, तर गर्भवती भएकै कारण अतिरिक्त जोखिम चाहिँ हुँदैन । गर्भवती तथा सुत्केरी अवस्थामा जोखिम त आउन सक्छ, तर पूर्वसावधानी अपनाउनुपर्छ । खासगरी गर्भवती तथा सुत्केरीले खानेकुरा, सरसफाइ, नियमित स्वास्थ्य चेकजाँचमा विशेष ख्याल गरेमा डराउनुपर्ने केही छैन ।

पहिलो कोरोना संक्रमितको मृत्यु नै सुत्केरी महिला भएको देखियो, यसमा के भन्नुहुन्छ ?
नेपालमा संक्रमण भित्रिएको झन्डै चार महिनापछि कोरोना भाइरसबाट सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोना संक्रमणबाट पहिलो मृत्यु भयो, यो दुःखद भयो । यसले पक्कै पनि केही पाठ सिकाएको छ । गर्भवती तथा सुत्केरीहरुको स्वास्थ्यमा बिषेश ध्यान दिनुपर्छ भन्ने देखिन्छ । सुत्केरी गराउँदा र गराइसकेपछि पनि आमालाई जोखिम हुन्छ । उनीहरु यतिबेला कमजोर बन्छन् । यतिबेला अन्य समस्या पनि हुन सक्ने र भाइरसको संक्रमण पनि भयो भने जोखिम हुने नै भयो । त्यसैले, प्रसुती गराउने महिलाहरुको पनि अनिवार्य रुपमा कोरोना परीक्षण गराउनुपर्छ भन्ने लाग्छ । यसो हुँदा विषेश ख्याल गर्न सकिन्छ । जोखिमको पहिचान समयमा नै हुन्छ । यसमा ढिला नगरौं भन्ने सुझाव दिन चाहान्छु ।

सरकार र सम्वद्ध निकायहरुलाई यहाँ के भन्न चाहनुहुन्छ ?
हामी फ्रन्टलाइनमा बसेर काम गरिरहेका छौं , हाम्रो मनोबल उच्च बनाउने काम गरिदिनुस् । गर्भवतीहरुलाई अस्पताल तथा स्वास्थ्य चौकीसम्म चेकजाँचका लागि ल्याउने व्यवस्था मिलादिनुस् । खोपहरु नियमित लिने बारे जनचेतना फैलाउन काम होस् । र, अर्को कुरा के छ भने अप्रेशन गर्नुपर्ने गर्भवतीहरुको अनिवार्यरुपमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइदिनुपर्दछ । किनकि यसले हामीलाई पनि निर्धक्क भएर काम गर्न सक्ने वातावरण तयार हुन्छ । सुत्केरी गराउनुपर्ने महिला र परिवार पनि ढुक्क हुन सक्छन् । अरु कुरामा त हामी दिनरात तयार नै छौ । साथै, सबै स्थानीय तहमा स्वास्थ्य संस्था, बर्थिङ्ग सेन्टर छन्, तिनीहरुलाई आवश्यक स्रोत साधन जुटाउने काम गरिदिनुस् । कोरोना र लकडाउनको गर्भवती र सुत्केरी आमाहरूको स्वास्थ्य सुरक्षा छायामा पर्नुहुन्न । यसतर्फ सबै सचेत बनौं ।

(साभारः Onlinekhabar.com)

Leave a Reply

Your email address will not be published. Required fields are marked *